श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो कपडाको अभावबाट उत्पन्न हुने समस्या न्यूनीकरण गर्न १६० थान न्यानो ज्याकेट वितरण गरिएको थियो। विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरू आर्थिक रूपमा कमजोर, सीमान्तकृत तथा न्यून आय भएका परिवारबाट आएका छन्, जसका कारण उनीहरू दैनिक अध्ययनका लागि आवश्यक आधारभूत सुविधाहरू प्राप्त गर्न समेत कठिनाइ भोगिरहेका छन्।
बढ्दो चिसो मौसमका कारण विद्यार्थीहरूलाई विद्यालयमा नियमित रूपमा उपस्थित हुन, सहज रूपमा अध्ययन गर्न तथा स्वास्थ्य सुरक्षामा चुनौती उत्पन्न भइरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीहरूको सुरक्षा, सहजता तथा शैक्षिक गतिविधिमा निरन्तर सहभागिता सुनिश्चित गर्न न्यानो ज्याकेट खरिदका लागि सहयोग अनुरोध गरेको थियो।
यस सम्बन्धमा बैंकले विद्यालयका विद्यार्थीहरूको अवस्थाबारे त्रियुगा नगरपालिका वडा नं. ७ कार्यालयसँग समन्वय गरेको थियो। त्रियुगा नगरपालिका वडा नं. ७ को सिफारिसका आधारमा श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, सीमान्तकृत तथा विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले १६० थान न्यानो ज्याकेट वितरण गरेको थियो।
यस सहयोगले विद्यार्थीहरूलाई चिसो मौसमबाट सुरक्षित राख्न, उनीहरूको स्वास्थ्य तथा समग्र कल्याणमा सकारात्मक प्रभाव पार्न तथा विद्यालयमा नियमित उपस्थित भई अध्ययन कार्यलाई निरन्तरता दिन महत्त्वपूर्ण योगदान पुर्याएको छ। साथै, यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा वञ्चित समुदायका बालबालिकाहरूको शैक्षिक पहुँच र सहभागिता अभिवृद्धि गर्न तथा उनीहरूका लागि थप सहयोगी र समावेशी सिकाइ वातावरण निर्माण गर्न मद्दत गरेको छ।