बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विद्यार्थीहरूको स्वास्थ्य, कल्याण र विद्यालयमा लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले कञ्चनपुरको दोधारा चाँदनीस्थित श्री भानु बहुमुखी क्याम्पसलाई सहयोग उपलब्ध गराएको छ। दोधारा चाँदनी जस्तो दुर्गम क्षेत्रमा रहेको यस सरकारी क्याम्पसमा स्थानीय तथा आर्थिक रूपमा पिछडिएका समुदायका ठूलो संख्यामा विद्यार्थीहरू अध्ययनरत छन्, जसमा करिब ३०० जना छात्राहरू रहेका छन्।
छात्राहरूको उच्च शिक्षामा निरन्तरता सुनिश्चित गर्नका लागि विद्यालयहरूमा उचित स्वास्थ्य र सरसफाइ पूर्वाधार हुनु आवश्यक छ। महिनावारी स्वच्छता व्यवस्थापनमा देखा पर्ने व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले क्याम्पस परिसरमा आधुनिक सेनेटरी प्याड भेन्डिङ मेसिन (वितरण प्रणाली) र वातावरणमैत्री डिस्पोजल मेसिन (विसर्जन प्रणाली) जडान गर्न सहयोग गरेको हो। यस पहलले महिनावारीका कारण छात्राहरू क्याम्पसमा अनुपस्थित हुने दरलाई कम गर्न, क्याम्पसको वातावरणलाई स्वच्छ राख्न र छात्राहरूलाई पूर्ण आत्मसम्मान, स्वास्थ्य र सुरक्षाका साथ आफ्नो अध्ययनलाई निरन्तरता दिन थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।