बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामुदायिक विद्यालयहरूमा आधुनिक शिक्षाको पहुँच पुर्याउने, ग्रामीण क्षेत्रको डिजिटल शैक्षिक दूरी कम गर्ने र सूचना प्रविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप, बैंकले सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित गौमुल गाउँपालिकामा एक वृहत डिजिटल शिक्षा परियोजना सञ्चालन गरेको छ। स्थानीय स्थानीय निकाय (गौमुल गाउँपालिका कार्यालय) सँगको समन्वय र सहकार्यमा यस क्षेत्रका ६ वटा प्रमुख सरकारी माध्यमिक विद्यालयहरूलाई प्रत्यक्ष सहयोग उपलब्ध गराइएको छ:
श्री मनाकोट माध्यमिक विद्यालय
श्री जनज्योति माध्यमिक विद्यालय
श्री अम्लिश माध्यमिक विद्यालय
श्री फूलपाता माध्यमिक विद्यालय
श्री कीर्तिचौर माध्यमिक विद्यालय
श्री बालविकास माध्यमिक विद्यालय
यी ग्रामीण विद्यालयहरूको परम्परागत शिक्षण पद्धतिलाई आधुनिक, अन्तरक्रियात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न बैंकले प्रत्येक विद्यालयका लागि ठूलो स्क्रिन भएका अत्याधुनिक 'स्मार्ट डिजिटल टिभी' (Smart TV) हरू उपलब्ध गराएको छ। स्थानीय विद्यालयहरूकै प्रत्यक्ष रेखदेख र व्यवस्थापनमा यो प्रविधि जडान गरिएकाले यसले सामुदायिक अपनत्वलाई थप बलियो बनाएको छ। यस प्रविधि-आधारित सहकार्यमार्फत शिक्षकहरूलाई नवीन श्रव्य-दृश्य सामग्री प्रयोग गरी पढाउन सहज हुनेछ भने बाजुराका दुरदराज र विपन्न वर्गका विद्यार्थीहरूले आधुनिक एवं गुणात्मक शिक्षा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ।