बाल सारथीलाई कुमारी बैंकको सहयोग

    कुमारी बैंक लिमिटेडले विगत १३ वर्षदेखि आर्थिक रूपमा विपन्न तथा सडक बालबालिकाहरूलाई आधारभूत शिक्षा, स्वास्थ्य सेवा तथा संरक्षण प्रदान गर्दै आएको गैरनाफामूलक संस्था बाल सारथी लाई रु. १,००,००० (एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ।

    हाल बाल सारथी एकेडेमी मा करिब १०० जना सडक बालबालिका नियमित रूपमा अध्ययनरत रहेका छन्। संस्थाले उनीहरूलाई गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा तथा पोषणयुक्त भोजन उपलब्ध गराउँदै आएको छ। साथै, बालबालिका तथा उनीहरूका परिवारमा शिक्षा, स्वास्थ्य र सामाजिक विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न अनौपचारिक तालिम तथा सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।

    बाल सारथीले सडक तथा विपन्न बालबालिकाको जीवनस्तर सुधारका लागि गर्दै आएको निःस्वार्थ सेवाको सम्मान गर्दै तथा यस प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिन प्रोत्साहन गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

    उक्त सहयोग रकमको चेक बैंकका तत्कालीन डेपुटी प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरीद्वारा बाल सारथीका संस्थापकहरूलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा एकेडेमीमा अध्ययनरत बालबालिका तथा बैंकका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

    कुमारी बैंक लिमिटेडले शिक्षा, स्वास्थ्य, वातावरण तथा सम्पदा संरक्षणलगायत विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ। आगामी दिनहरूमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अझ प्रभावकारी र दीर्घकालीन सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

    #