TVRS प्रणालीमा डाइनामिक QR कोड विकासका लागि सहयोग

    कुमारी बैंक लिमिटेडले ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना अनलाइनमार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) मा डाइनामिक QR कोड विकास तथा कार्यान्वयनका लागि सहयोग प्रदान गरेको छ।

    हाल महानगरीय ट्राफिक प्रहरी महाशाखाले साइनिक टेक्नोलोजी प्रा.लि.द्वारा विकसित ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) प्रयोग गर्दै आएको छ, जसमा चिट नम्बर, उल्लङ्घनको प्रकृति तथा नियम उल्लङ्घन गर्ने व्यक्तिको विवरण अभिलेख गरिन्छ। नेपाल राष्ट्र बैंकबाट मिति २०७८/०६/१२ मा बागमती, गण्डकी तथा कर्णाली प्रदेशमा QR कोडमार्फत ट्राफिक जरिवाना संकलन गर्ने स्वीकृति प्राप्त भएपछि सोही कम्पनीले TVRS मा डाइनामिक QR कोड प्रणाली विकास गरी कार्यान्वयन गरेको हो। हाल बागमती प्रदेशमा कुमारी बैंकमार्फत उक्त सेवा सञ्चालनमा रहेको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा कुमारी बैंकको QR Acquiring Merchant का रूपमा आबद्ध भएपछि सेवाग्राहीहरूले कुमारी स्मार्ट (Kumari Smart) मोबाइल बैंकिङ तथा Fonepay नेटवर्कअन्तर्गतका विभिन्न मोबाइल बैंकिङ एप, eSewa, IME Pay, Khalti लगायतका डिजिटल माध्यम प्रयोग गरी ट्राफिक नियम उल्लङ्घनबापतको जरिवाना तत्काल भुक्तानी गर्न सक्ने भएका छन्।

    QR कोडमार्फत प्राप्त भुक्तानी कुमारी बैंकमा रहेको ट्राफिक भुक्तानी खातामा जम्मा हुनुका साथै सो विवरण स्वतः महालेखा नियन्त्रक कार्यालय (Financial Comptroller General Office – FCGO) को राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा प्रविष्ट हुन्छ। साथै, उक्त भुक्तानी TVRS प्रणालीमा समेत अद्यावधिक हुने भएकाले सम्बन्धित कागजात फुकुवा गर्ने प्रक्रिया सहज र छिटो हुने व्यवस्था गरिएको छ।

    #