कुमारी बैंक लिमिटेडले राउन्ड टेबल नेपाल अन्तर्गत सञ्चालित सुगन्ध थालासेमिया परियोजना लाई आर्थिक सहयोग प्रदान गरेको छ। राउन्ड टेबल नेपालले पूर्वाधार विकास, विपन्न बालबालिकाको शिक्षामा लगानी तथा स्वास्थ्य सेवामार्फत गुणस्तरीय शिक्षा र सामाजिक सेवाको प्रवर्द्धन गर्दै आएको छ। सुगन्ध थालासेमिया परियोजना यस संस्थाको महत्वपूर्ण पहलमध्ये एक हो, जसले विशेषगरी न्यून आय भएका तथा आर्थिक रूपमा विपन्न थालासेमिया रोगीहरूलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न कार्य गर्दै आएको छ।
थालासेमिया एक वंशाणुगत (Genetic) रक्तरोग हो, जसमा शरीरले पर्याप्त वा सामान्य हेमोग्लोबिन उत्पादन गर्न सक्दैन। यसका कारण रातो रक्तकोषहरू समयभन्दा अगावै नष्ट हुने भएकाले रक्तअल्पता (एनेमिया) हुन्छ। दीर्घकालीन रूपमा यस रोगले मुटु, कलेजो तथा अन्तःस्रावी प्रणालीमा असर पुग्ने, शरीरमा अत्यधिक फलाम (Iron Overload) जम्मा हुने, विभिन्न संक्रमणको जोखिम बढ्ने, हड्डीको विकृति, प्लीहा (Spleen) को आकार बढ्ने, बालबालिकाको शारीरिक वृद्धि सुस्त हुने तथा मुटुसम्बन्धी जटिल समस्या उत्पन्न हुने सम्भावना रहन्छ।
थालासेमिया रोगीहरूलाई जीवनभर नियमित र खर्चिलो उपचार तथा आवश्यक पोषण व्यवस्थापन आवश्यक पर्ने भएकाले कुमारी बैंकद्वारा प्रदान गरिएको आर्थिक सहयोग उपचाररत बिरामीहरूको औषधोपचार, रक्त व्यवस्थापन तथा पोषणसम्बन्धी आवश्यकतामा उपयोग गरिनेछ।
स्वास्थ्य क्षेत्रलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को प्राथमिकतामध्ये एक मानेको कुमारी बैंक लिमिटेडले थालासेमिया रोगीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले राउन्ड टेबल नेपालद्वारा सञ्चालित सुगन्ध थालासेमिया परियोजनासँग सहकार्य गर्दै यस मानवीय अभियानमा ऐक्यबद्धता जनाएको छ।