कुमारी बैंक लिमिटेडले गोरखा जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित चुमनुब्री शाखामा नगद ढुवानी (Cash Transit) का लागि हेलिकप्टर सेवा प्रयोग गरेको छ। सडक यातायातको पहुँच नभएको यस क्षेत्रमा स्थानीय बासिन्दाले बैंकिङ सेवा लिन बैंकको शाखासम्म पुग्न करिब दुई दिन पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ।
विशेषगरी, उक्त क्षेत्रका एकल महिला तथा ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता सहज रूपमा वितरण गर्ने उद्देश्यले बैंकले हेलिकप्टरमार्फत नगद ढुवानीको व्यवस्था गरेको हो।
दुर्गम तथा सडक सञ्जालको पहुँचबाट टाढा रहेका नागरिकको घरदैलोमै बैंकिङ सेवा पुर्याउने यस पहलमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्न तथा ग्रामीण समुदाय र औपचारिक बैंकिङ प्रणालीबीचको दूरी कम गर्न बैंकले महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिएको छ।
यस प्रकारको पहल वित्तीय समावेशीकरण (Financial Inclusion) लाई प्रवर्द्धन गर्ने बैंकका महत्वपूर्ण प्रयासहरूमध्ये एक हो, जसले दुर्गम क्षेत्रका नागरिकहरूलाई सहज, सुरक्षित तथा पहुँचयोग्य बैंकिङ सेवा उपलब्ध गराउन सहयोग पुर्याएको छ।