कुमारी बैंक लिमिटेडले नव मिथिला फाउन्डेसन द्वारा आयोजित जनकपुर साहित्य महोत्सव–२०२३ सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त साहित्य महोत्सवले धनुषा जिल्लाका स्थानीयवासी तथा देशभरका साहित्यप्रेमीहरूलाई एकै स्थानमा ल्याई साहित्य, कला, नाटक, चलचित्र, संगीत, टेलिभिजन, पत्रकारिता तथा राजनीतिक सक्रियताबीचको अन्तरसम्बन्धबारे विचार–विमर्श गर्ने साझा मञ्च प्रदान गरेको छ। साथै, यसले कवि, साहित्यकार, कलाकार, पत्रकार तथा संगीतकर्मीबीच विचार आदान–प्रदान र आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
कुमारी बैंकको विश्वास छ कि यस्ता कार्यक्रममा युवाहरूको सक्रिय सहभागिताले अध्ययन संस्कृतिको विकास, पठन–पाठनप्रतिको रुचि तथा आलोचनात्मक सोच (Critical Thinking) को अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँछ, जुन एक साक्षर र सचेत समाजका आधारभूत सूचकहरू हुन्।
त्यसैगरी, यस्ता साहित्यिक महोत्सवहरूले विविध पृष्ठभूमिका सहभागीहरूबीच सांस्कृतिक तथा साहित्यिक सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्याउँछन्। नियमित रूपमा यस्ता कार्यक्रमहरूको आयोजना हुँदै जाँदा सार्वजनिक बहस, विचार तथा सूचना आदान–प्रदानजस्ता सामुदायिक गतिविधिमार्फत समाजमा साक्षरता, बौद्धिक विमर्श र सामाजिक सहकार्यको संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ।