बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने, बाल कल्याण सुनिश्चित गर्ने र समावेशी सिकाई वातावरण निर्माण गर्ने उद्देश्यअनुरूप, बैंकले सिरहाको धनगढीमाई नगरपालिका-७ स्थित श्री जनता आधारभूत विद्यालय फुल्काहाकट्टी-०२ सँग सहकार्य गरेको छ। वि.सं. २०४९ मा स्थापना भएको यस सरकारी विद्यालयले लामो समयदेखि स्थानीय क्षेत्रका विपन्न तथा आर्थिक रूपमा न्यून आय भएका परिवारका बालबालिकाहरूलाई आधारभूत शिक्षा प्रदान गर्दै आइरहेको छ।
प्रारम्भिक बाल विकास तथा शिशु कक्षाका बालबालिकाहरूका लागि सुरक्षित, न्यानो र सफा कक्षाकोठाको व्यवस्था हुनु अत्यन्त आवश्यक हुन्छ। विद्यालयको प्लेग्रुप (शिशु कक्षा) को भुइँतल्लाको मर्मत सम्भार र स्तरोन्नति गर्ने उद्देश्यले बैंकले यो पूर्वाधार सुधार अभियानमा सहयोग पुर्याएको हो। यस पहलअन्तर्गत, साना बालबालिकाहरूलाई चिसो भुइँबाट बचाउन र कक्षाकोठालाई बालमैत्री एवं स्वास्थ्यकर बनाउन विद्यालयलाई आधुनिक पिभिसी कार्पेट (PVC Carpet) उपलब्ध गराई म्याटिङ व्यवस्थापन गरिएको छ। यस सहयोगमार्फत कक्षाकोठाको वातावरण थप आकर्षक बन्ने, बालबालिकाहरूको स्वास्थ्य सुरक्षित रहने र उनीहरूमा खेलकुद तथा रचनात्मक सिकाईप्रति नयाँ उत्साह जाग्ने विश्वास बैंकले लिएको छ।